images
images

बेलायतमा रोजगारीका लागि जान ४५ जना नेपाली नर्स छनोट


  • 492
    SHARES
  • २०८० मंसिर २३ गते शनिबार

    बेलायतमा रोजगारीका लागि जान ४५ जना नेपाली नर्स छनोट

    काठमाडौं । बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट भएका छन् । ६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट हुन सफल भएका हुन् ।

    हाललाई प्रयोगका रुपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो । सोही समझदारी अनुसार बेलायत जान चाहने नर्सहरूका लागि सरकारले गत जुलाई २० मा सूचना जारी गरी आवेदन माग गरेको थियो । 

    परीक्षामा सहभागि हुनका लागि ७ सय ७१ जनाले आवेदन दिए पनि अधिकांशले आवश्यक सबै कागजपत्र पेश नगरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । आवश्यक कागजात पेश गरेका ७८ जनाको आवेदन स्वीकृत भएकामा योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । जसमध्ये ६० जना अन्तर्वार्तामा सहभागी भएका थिए । उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो ।

    आवेदन दिँदा कम्तीमा दुई वर्षको अनुभव, अंग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र पेस गर्नुपर्छ । तर, नेपाल र बेलायतबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ । दुई वर्षको कार्य अनुभव पनि अनिवार्य रूपमा पेश गर्नुपर्छ ।

    नर्सहरूले इन्टरनेशनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्छ । लेख्ने, बोल्ने, सुन्ने र पढ्ने चार वटा मापदण्डमा अंक दिइने आईईएलटीएसमा लेख्नेबाहेक सबैमा ७ अंक ल्याउनुपर्छ ।

    बेलायतस्थित ह्याम्पसायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले नेपाली नर्सको अन्तर्वार्ता लिएका थिए ।छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ । उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने नियम छ । त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक भने पाउनेछन् ।

     सम्झौता अनुसार उनीहरुको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् । त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदा पाउनेछन् ।


    images
    images

    Logo