images
images

एनसेलको सीईओलाई छलफलमा बोलाउने अर्थ समितिको निर्णय


  • 253
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    एनसेलको सीईओलाई छलफलमा बोलाउने अर्थ समितिको निर्णय

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । आजियटाले एनसेलको ८० प्रतिशत सेयर सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको विषय विवादमा परेपछि समितिले एनसेलका सीईओ जाबोर कायुमोभलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।

    बैठकमा सांसदहरुले एनसेल मात्र नभएर आजियटाकै सीईओलाई बोलाउन माग गरेका थिए । रास्वपा सांसद स्वर्णिम वाग्लेले आजियटाका सीईओलाई पत्र काटेर बोलाउन समितिलाई आग्रह गरेका थिए ।

    त्यस्तै, एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

    “आजको छलफलका क्रममा उठेका विषय र एनसेलको स्वामित्व खरिदबिक्रीका सन्दर्भमा विस्तृत अध्ययनसहित जानकारी पेश गर्न निर्देशन दिने निर्णय भएको छ”, सभापति चालिसेले भने ।

    समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी गराउने पत्र प्राप्त भएको उपलब्ध भएको थियो । यो कारोबार शङ्कास्पद देखिएकाले प्राधिकरणले सुक्ष्मरूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ ।

    “शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले एनसेललाई यही मङ्सिर १५ गते पत्राचार गरेकामा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ । उसले अहिले शेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानूनी प्रावधान भित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जाकारी दिने तयारी भइरहेको बताएको छ”, अध्यक्ष खनालले अर्थ समितिको बैठकमा भनेका छन् ।

    मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका छन् । सार्वजनिकस्तरबाट चर्को विरोधसमेत भएपछि संसदीय समितिहरूले पनि यसमा चासो दिएका हुन् । आजै सार्वजनिक लेखा समितिमा पनि एनसेल शेयर खरिदबिक्री प्रकरणबारे छलफल भएको छ ।

     


    images
    images

    Logo