काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ प्रतिस्पर्धाबाट छनोट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध नेपाल एयरलाइन्सका कर्मचारीहरु आन्दोलित भएका छन् ।
कर्मचारीको संयुक्त ट्रेड युनियन संघर्ष समितिले नेपाल एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिङ सेवामा पाएको एकाधिकार खोसिएको विरोधमा नेपाल एयरलाइन्सको केन्द्रीय कार्यालय अगाडि धर्ना शुरु गरेका छन् ।
निगमको ‘ग्राउन्ड ह्याण्डलिङ जोगाउन व्यवस्थापन ट्रेड युनियन एक होऔँ,’ ‘ग्राउन्ड ह्याण्डलिङ खोस्ने हवाई माफिया होसियार’ भन्दै उनीहरुले धर्ना कार्यक्रम गरेका छन् ।
निगमले मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ । प्राधिकरणले मंसिर १५ गते ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने निर्णय गर्दै निगमको एकाधिकार खोसेको थियो ।
निगमको आम्दानीको लाइफलाइन मानिने यो सेवा बन्द हुने भएपछि कर्मचारी संगठनहरु संयुक्त संघर्ष समिति बनाएर आन्दोलित बनेका हुन् । उनीहरुले हवाई माफियाका कारण निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको आरोप लगाएका छन् । निगमले यो सेवामार्फत वायुसेवा प्रदायक कम्पनीहरुबाट वार्षिक चार अर्बभन्दा धेरै उठाउँदै आएको छ ।



