images
images

शेयर बिक्री सम्बन्धि प्राधिकरणलाई एनसेलको जवाफ– कानुनको पालना गर्छौं


  • 355
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    शेयर बिक्री सम्बन्धि प्राधिकरणलाई एनसेलको जवाफ– कानुनको पालना गर्छौं

    काठमाडौं । एनसेल आजियाटाले शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्ध रहेको जनाएको हो । 

    अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको बताए । उनका अनुसार एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ । 

    एनसेलले सेयर खरिदबिक्रीको विषयमा आवश्यक कागजात संकलन गरिरहेकाले केही समयमै आवश्यक स्वीकृति प्रक्रिया अघि बढाउने जनाइएको छ। दूरसञ्चार नियमावली २०५४ को नियम १५ ट बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

    समितिमा एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने पनि अध्यक्ष खनालले जानकारी दिए । प्राधिकरणको २ अर्ब २५ करोड रुपैयाँ बेरुजु बक्यौताबारे पनि समितिले प्राधिकरणसँग जवाफ माग गरेको थियो । सो सन्दर्भमा विभिन्न नौ वटा दूरञ्चार सेवा प्रदायक कम्पनीबाट असुल उपर गरिनुपर्ने बक्यौता तीन महिनाभित्र बुझाउन भनिएको प्राधिकरणले जनाएको छ ।

    अर्थ समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए । “एनसेल आजियटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ), एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काटोस्”, उनले भने, “लगानी सम्मेलन गर्ने भनिरहेका बेला नेपालमा प्रत्यक्ष लगानी गरिरहेको कम्पनी बाहिरिनुले नेपालको प्रतिष्ठामा आँच पुग्ने अवस्था आएको छ ।” यस प्रकरणले नेपालमा लगानी गर्न चाहेने विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने वाग्लेको भनाइ थियो ।

    समितिका सांसदहरु दीपक खड्का, विराजभक्त श्रेष्ठ, गङ्गा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिदबिक्री प्रकरणबारे गम्भीर छानबिन गरिनुपर्ने धारणा राखेका थिए । यति ठूलो व्यावसायिक कारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद र विद्यमान कानुनको उल्लङ्घन रहेकाले यसबारे राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सांसदहरुको धारणा थियो ।

    आजिएटा ग्रुपले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड (५ करोड अमेरिकी डलर)मा बिक्री गरेपछि विवाद हुँदै आएको छ । 

     

     


    images
    images

    Logo