images
images

मनोज ग्यास उद्योगले नष्ट गर्‍यो म्याद गुज्रेका १ हजार सिलिन्डर


  • 440
    SHARES
  • २०८० मंसिर १६ गते शनिबार

    मनोज ग्यास उद्योगले नष्ट गर्‍यो म्याद गुज्रेका १ हजार सिलिन्डर

    वीरगञ्ज । पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ । सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार दासले जानकारी दिए ।

    पहिलो चरणमा म्याद गुज्रेको एक हजार २७ वटा सिलिन्डर विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको रोहवरमा जगदम्बा स्टिल प्रालिको सहयोगमा नष्ट गरिएको उनले बताए । 

    सिलिन्डर निर्माण भएको १० वर्षमा हाइड्रोलिक परीक्षण गर्नुपर्ने र सो क्रममा गुणस्तरहीन देखिने सिलिन्डर नष्ट गर्नुपर्ने व्यवस्था भएअनुसार परीक्षण गर्दा गुणस्तरहीन पाइएका एक हजार २७ वटा सिलिन्डर नष्ट गरिएको सञ्चालक दासको भनाइ छ । 

    उनका अनुसार पहिलो चरणमा ६४८१७४ टी, २०९३ टी, ५५२६८ टी, ३९४६५२ एपिएल, ३९४६५२ टी र १८२३ टी सिरियल नम्बर भएको सिलिन्डरहरु नष्ट गरिएको छ । क्रमशः पाँच/पाँच वर्षमा सिलिन्डरको हाइड्रोलिक परीक्षण गरिने र सो क्रममा गुणस्तरहीन पाइने सिलिन्डरहरु पनि नष्ट गरिने जनाएको छ । 

    सिलिन्डर नष्ट गर्ने क्रममा वीरगञ्ज महानगरपालिका–२१ का वडाअध्यक्ष राधाकृष्ण रौनियार, नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्जका रामप्रसाद लम्साल, उपभोक्ता तथा वाणिज्य कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग, नेपाल आयल निगमका वेब प्रशिक्षक यशबहादुर गुरुङ सञ्चारकर्मीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


    images
    images

    Logo