काठमाडौं । कर्मचारी सञ्चय कोषको वासलात आकार एकै वर्ष ५२ अर्बले बढेको छ । कोषले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार कोषको वासलात आकार ५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको पहिलो असोज मसान्तसम्म यो ४ खर्ब ७१ अर्ब रुपैयाँ बराबर थियो ।
कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप राखेको छ । यो अघिल्लो वर्षभन्दा करिब २० अर्ब बढी हो । त्यस्तै, सञ्चयकर्ताको सापटीमा २ खर्ब ४७ अर्ब रुपैयाँ लगानी गरिएको छ ।
अर्कोतर्फ परियोजना तथा संस्थागत लगानीतर्फ ८५ अर्ब तथा धितोपत्रहरुमा ३२ अर्ब रुपैयाँ बराबरको लगानी रहेको कोषले जनाएको छ । धितोपत्रमा गरिएको लगानी अघिल्लो वर्षभन्दा ६ अर्बले बढी हो । कोषले सञ्चय कोषबापत ४ खर्ब ७३ अर्ब तथा निवृत्तिभरण कोषबापत ७ अर्ब रुपैयाँ संकलन गरेको छ ।
एक वर्षको अवधिमा कोषले बचत तथा जगेडा कोषको आकार ३ अर्ब रुपैयाँले बढाएर ३७ अर्ब पुर्याएको छ ।



