काठमाडौं । दशैं तिहार छठ जस्ता चाडवाडका कारण दुइ महिनामा थप ७४ अर्बको नोट बजारमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म ६ खर्ब ७७ अर्बको नोट बजारमा छ । भदौ मसान्तमा बजारमा ६ खर्ब ३ अर्ब मात्रै थियो ।
बजारमा डिजिटल भुक्तानीको प्रवृत्ति बढ्दै गए पनि मुद्राको होल्डिङ भने बढ्दै गएको देखिन्छ । अघिल्लो वर्ष कात्तिक मसान्तमा ७ खर्व ३१ अर्ब बजारमा रहेकोमा यो वर्षसम्म आइपुग्दा करिब ४६ अर्बले बढेको छ ।
त्यसो त चाडबाडमा पनि अघिल्लो वर्षभन्दा यो वर्ष बढी नोट बजारमा गएको छ । अघिल्लो वर्ष चाडबाडमा करिब ५९ अर्ब मात्रै थप नोट खपत भएकोमा यो वर्ष करिब १८ अर्बले बढेको हो ।
अघिल्लो वर्ष कात्तिकमा बजारबाट १८ अर्ब फिर्ता आएको भए पनि यो वर्ष थप १९ अर्ब बजारमा गएको छ । यो वर्ष चाडपर्व ढिलो भएकोले बजारको नोट राष्ट्र बैंकमा आउन ढिला भएको हो ।
अघिल्लो वर्ष मौद्रिक क्षेत्र समेत संकटको अवस्थामा थियो । रेमिट्यान्स अपेक्षित नआउँदा बाह्य क्षेत्र नकारात्मक थियो । सोही कारण आन्तरिक बजारको तरलता संकुचित थियो । यो वर्ष मौद्रिक अवस्था खुकुलो हुनु र बैकिङ क्षेत्रको ब्याजदर समेत घट्दै जानुले पनि नोटको होल्डिङलाई बढाएको हुनसक्ने अनुमान गरिएको छ ।



