काठमाडौं । कात्तिकमा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । नयाँ महिनाको लागि निर्धारित ब्याजदर अघिल्लो महिनाको अन्तिमसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार वाणिज्य बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार यस्तो देखिएको हो ।
हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । ६ वाणिज्य बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ ।
सर्वाधिक ब्याजदर घटाउने एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशियाले कात्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २.०३५ प्रतिशतविन्दुले घटाएको छ । बैंकले मंसिर महिनामा व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ ।
एनआईसी एशिया पछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबि बैंक लिमिटेड रहेको छ । कात्तिक महिनामा सर्वाधिक ब्याजदर दिएको एनएमबि बैंकले मंसिर महिनाका लागि ब्याजदर १.२४३ प्रतिशतले घटाएर ९.७६ प्रतिशतमा झारेको छ ।
माछापुच्छ्रे बैंकले भने कात्तिकको तुलनामा मंसिरका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । कात्तिकमा साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत पुर्याएको यस बैंकले मंसिरका लागि १०.६०३ प्रतिशत तोकेको छ ।



