काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ८.९० प्रतिशतले कम हो । गत वर्ष यसले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यसैगरी, वित्तीय आम्दानी पनि १ अर्ब ९० करोडबाट घटेर १ अर्ब ७५ करोड ७० लाखमा झरेको छ । यस अवधिमा कम्पनीको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ। उक्त रकम गत आर्थिक बर्षको सोही अवधिको कूल आय ११ अर्ब ४ करोड ९० हजार रुपैयाँको तुलनामा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँ (अर्थात् ३.५४ प्रतिशत)ले कम हो।
चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ रहेको । उक्त रकम गत आर्थिक बर्षको सोही अवधि (२०७९आश्विन मसान्त) को कुल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार रुपैयाँ (अर्थात, ५.४३ प्रतिशत) ले कमी हो।
कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ प्रतिशत रहेको छ। हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ भने ५३४ रुपैयाँ ८ पैसा रहेको छ ।
गत आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक बर्षसोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेको टेलिकमले जनाएको छ।
१. ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा करिब ४९ करोड १४ लाख ८५ हजार रुपैयाँले कमी भएको ।
२. आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको ।
३. विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण ५ करोड ९९ लाख रुपैयाँ फोरेन एक्सचेन्ज गेन भएको ।
४. प्रतिकुल मौसमका कारण विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसकेको ।
५.विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।
६. राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
७.सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
८. बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १४ करोड ८१ लाख रुपैयाँले कमी भएको ।



