काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंकहरुको नाफा वृद्धि ऋणात्मक देखिएको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस्तो नाफामा करिब २ प्रतिशतको गिरावट आएको हो ।
सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरको विकास बैंकमध्ये यो अवधिमा ५ वटा बैंकको नाफा घटेको छ भने ३ वटाको नाफा बढेको छ । यसरी नाफामा गिरावट आउने बैंकहरुमा सांग्रिला, ज्योति, मुक्तिनाथ, महालक्ष्मी र साइन रेसुङ्गा बैंक रहेका छन् । कामना सेवा, लुम्बिनी र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा भने वृद्धि भएको छ ।
यसपटक सांग्रिला डेभलपमेन्ट बैंक नोक्सानमा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा २.५३ करोड नाफामा रहेको उक्त बैंक यसपटक १.४२ करोड नोक्सानमा गएको हो ।
त्यस्तै, ज्योति विकास बैंकको नाफा ४९ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म १० करोड हाराहारीमा नाफा कमाएको ज्योतिले ५ करोड हाराहारीमा सीमित भएको हो ।
सबैभन्दा ठूलो विकास बैंक मानिने मुक्तिनाथ विकास बैंकको नाफामा पनि यस अवधिमा २५ प्रतिशतको गिरावट देखिएको छ । गत वर्षको असोजसम्म ३०.७४ करोड नाफा कमाएको मुक्तिनाथले यस वर्ष २२.८८ करोड मात्रै नाफा कमाएको हो ।
महालक्ष्मी विकास बैंकको नाफा पनि पहिलो त्रैमासमा २० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको असोजसम्म ११.९३ करोड कमाएको महालक्ष्मीले यस वर्ष ९.५३ करोड मात्रै नाफा गरेको हो ।
शाइन रेसुङ्गा बैंकको नाफा घटे पनि यस्तो गिरावट ८ प्रतिशत मात्रै छ । अघिल्लो वर्ष २०.९१ करोड रहेको नाफा घटेर १९.१६ मा झरेको हो ।
नाफा बढेका ३ बैंकहरुमध्ये कामना सेवा बैंकको नाफा १८७ प्रतिशतले बढेर ११.९५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४.१५ करोड रुपैयाँ रहेको थियो ।
लुम्बिनी विकास बैंकले पनि यो वर्ष नाफामा भारी वृद्धि गर्दै ३ महिनामै १७.३३ करोड पुर्याएको छ । अघिल्लो वर्ष ७.१० करोड रहेको बैंकको नाफा यसपटक १४३ प्रतिशतले बढेको हो ।
गरिमा विकास बैंकले भने यसपटक नाफामा सामान्य सुधार गरेको छ । बैंकले यो अवधिमा २०.१५ करोड नाफा गरेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.२६ प्रतिशत बढी हो ।
समग्रमा ८ विकास बैंकहरुले १ अर्ब ४ करोड रुपैयाँ बराबरको नाफा गरेका छन् । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ७ करोड हाराहारीमा थियो ।



