images
images

१२ वाणिज्य बैंकको नाफा घट्यो, दुई बैंक नोक्सानमा, ठूला बैंककै 'बिजोग'


  • 14.5K
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    १२ वाणिज्य बैंकको नाफा घट्यो, दुई बैंक नोक्सानमा, ठूला  बैंककै 'बिजोग'

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ वटा वाणिज्य बैंकको नाफा यसपटक घटेको हो । यसअघि नाफामा प्रतिस्पर्धा गर्दै आएका ठूला मानिएका बैंकहरु नै यसपटक यो दौडबाट बाहिरिएका छन् । 

    बैंकहरुले जारी गरेको वित्तीय विवरण अनुसार यसपटक सबैभन्दा बढी नाफा नेपाल इन्भेष्टमन्ट मेगा बैंकले गरेको छ । सो बैंकले करिब ३३ प्रतिशत नाफा बढाउँदै पहिलो त्रैमासमा १ अर्ब ५२ करोड नाफा कमाएको हो । 

    त्यस्तै, नबिल बैंकले यो अवधिमा १ अर्ब ४६ करोड नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा  करिब ६ प्रतिशत कम हो । अघिल्लो वर्ष सो बैंकको नाफा १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । 

    ग्लोबल आईएमई बैंकले १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ३ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । 

    प्राइम कमर्सियल बैंकले नाफामा चौथो स्थान लिएको छ । सो बैंकले पहिलो ३ महिनामा १ अर्ब १छ करोड नाफा कमाएको हो । यो अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकको नाफा ८७ करोड रुपैयाँ रहेको थियो । 

    हिमालयन बैंकले भने नाफामा ९८ प्रतिशत वृद्धि गर्दै १ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष सो बैंकको नाफा ५३ करोड रुपैयाँ रहेको थियो । 

    त्यस्तै, प्रभु बैंकले यो अवधिमा १ अर्ब ३ करोड नाफा कमाएको छ । जुन अघिल्लो वर्ष भन्दा करिब ४६ प्रतिशत बढी हो । अघिल्लो वर्ष सोही अवधिमा करिब ७० करोड नाफा कमाएको थियो । 

    नाफाको आकारमा पहिलो बन्न प्रतिस्पर्धा गर्दै आएको एनआईसी एशिया बैंक यो अवधिमा सातौं स्थानमा झरेको छ । सो बैंकले यो अवधिमा १ अर्ब १ करोड नाफा कमाएको हो जुन अघिल्लो वर्षभन्दा ४२ प्रतिशत कम हो । 

    एनएमबि बैंकको नाफा ६ प्रतिशतले बढेको छ । बैंकले यो अवधिमा ९६ करोड हाराहारीमा नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ९० करोड रहेको थियो ।

    राष्ट्रय वाणिज्य बैंकको नाफा ३१ प्रतिशतले घटेको छ । बैंकले यो अवधिमा ८९ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा  १ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । 

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो अवधिमा ७८ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा करिब ७ प्रतिशतले कम हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले करिब ८५ करोड नाफा कमाएको थियो । 

    गत आर्थिक वर्षमा सर्वाधिक प्रतिशेयर नाफा कमाउन सफल एभरेष्ट बैंकको नाफा पनि यसवर्ष घटेको छ । बैंकले यो अवधिमा ७८ करोड नाफा कमाएको छ जुन करिब ९ प्रतिशत कम हो । 

    माछापुच्छ्रे बैंकले भने नाफामा २० प्रतिशत सुधार गर्दै ५४ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ४५ मात्रै थियो । 

    त्यसबाहेक सानिमा बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, नेपाल बैंक तथा लक्ष्मी सनराइज बैंकको नाफा घट्दा सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा यो अवधिमा नकारात्मक देखिएको छ ।

    सानिमा बैंकको नाफा यो त्रैमासमा ४८ करोडमा झरेको छ । यो अघिल्लो वर्षको भन्दा करिब १२ प्रतिशत कम हो । अघिल्लो वर्ष यस्तो नाफा झण्डै ५५ करोड रुपैयाँ रहेको थियो । 

    नेपाल एसबीआई बैंकको नाफा अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा २३ प्रतिशतले घट्दा करिब ४८ करोडमा झरेको छ । त्यस्तै, सिटिजन्स बैंकको नाफा १९ प्रतिशतले घटेर ४० करोडमा झर्दा कुमारी बैंकको नाफा करिब ७४ प्रतिशत घटेर २६ करोडमा सीमित भएको छ । त्यस्तै नेपाल बैंकको नाफा ७६ प्रतिशतले घटेर १४ करोड रुपैयाँमा झरेको छ । 

    सिद्धार्थ बैंक २६ करोड र कृषि विकास बैंक ८८ करोड रुपैयाँ नोक्सानमा देखिएका छन् ।   

    लक्ष्मी सनराइज बैंकले ३ महिनामा १० करोड नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा करिब ८० प्रतिशत कम हो । अघिल्लो वर्ष असोजसम्म बैंकको नाफा ५० करोड रुपैयाँ रहेको थियो । 


    images
    images

    Logo