काठमाडौं । एनआईसी एशिया बैंकको नाफा ४२ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको खुद व्याज आम्दानी २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३३ करोड रहेको थियो ।
बैंकले पहिलो त्रैमासिक अवधीसम्ममा ३ खर्ब ६३ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ९४ अर्ब कर्जा विस्तार गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ६१अर्ब रुपैयाँ कर्जा विस्तार गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ९ पैसामा रहेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय २ रुपैयाँ ५ पैसा रहेको छ।



