images
images

सेमिफाइनल यात्रा : न्यूजिल्याण्ड भन्दा अष्ट्रेलियालाई बढी सजिलो


  • 681
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    सेमिफाइनल यात्रा : न्यूजिल्याण्ड भन्दा अष्ट्रेलियालाई बढी सजिलो

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणका ४५ खेलमध्ये आज ३२ औं खेल हुँदै छ । शीर्ष ४ मा रहेका दुइ टीम न्यूजिल्याण्ड र साउथ अफ्रिका आज आमनेसामने हुन लागेका हुन् । 

    प्रतिस्पर्धामा रहेका ८ वटा मुलुकले ६/६ वटा खेल खेलिसकेका छन् । विश्वकपबाट लगभग बाहिरीसकेका श्रीलङ्का र बंगलादेशले भने ७/७ खेल खेलिसकेका छन् । यहाँसम्म आइपुग्दा भारत ६ नै वटा खेल जितेर पहिलो र दक्षिण अफ्रिका ५ वटा खेल जितेर दोस्रो स्थानमा रहेका छन् । न्यूजिल्याण र अष्ट्रेलिया ४/४ खेल जितेर क्रमशः तेस्रो र चौथो स्थानमा छन् । हालसम्म टप ४ मा परेका मध्ये भारत १२ अंक सहित सेमिफाइनलमा पुगिसकेको छ । 

    निर्धारित खेलमध्ये अब सबै मुलुकहरुले ३/३ खेल्न बाँकी छ । दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले हालसम्म १० अंक पाएको छ । अब एउटा मात्रै खेल जित्दा पनि उक्त देशले सेमिफाइनल खेल्न पाउनेछ । यदि सबै खेल हार्ने हो भने पनि दक्षिण अफ्रिका सँग सेमिफाइनल खेल्न एउटा उपाय बाँकी रहन्छ । बाँकी रहेका ३ मध्ये कुनै पनि खेलमा नजित्दा पनि रनरेट अरु मुलुकहरुको भन्दा धेरै रह्यो भने दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न सक्छ । 

    अष्ट्रेलिया र न्यूजिल्याण्डको सेमिफाइनल यात्रा कसको बढी सहज ?

    न्यूजिल्याण्ड र अष्ट्रेलिया दुबैले ४/४ म्याच जितेर ८/८ अंक हात पारेका छन् । अहिलेसम्मको अंक बराबर नै भएपनि रनरेटका आधारमा न्यूजिल्याण्ड र अष्ट्रेलिया तेस्रो र चौथोमा रहेका छन् । दुबै देशलाई सेमिफाइनलमा खेल्नका लागि कम्तीमा २/२ वटा खेल जित्नुपर्ने बाध्यता छ । 

    न्यूजिल्याण्डले अब दक्षिण अफ्रिका, श्रीलंका र पाकिस्तानसँग खेल्न बाँकी छ । हालसम्मको प्रस्तुति हेर्दा दक्षिण अफ्रिका न्यूजिल्याण्ड भन्दा बलियो टोली हो । दोस्रो स्थानमा रहेको अफ्रिकासँग जित्न न्यूजिल्याण्डलाई सहज हुने छैन । न्यूजिल्याण्डले खेल्न बाँकी रहेको पाकिस्तान अहिले पाचौं स्थानमा रहेको भएतापनि विश्वविजेता रहीसकेको उक्त देशसँग जित्न पनि त्यत्ति सहज हुनेछैन । बाँकी रहेको अर्को देश श्रीलङ्का सातौं स्थानमा छ । आफूभन्दा कम खेल जितेको भएतापनि श्रीलङ्कासँग जित हासिल गर्न न्यूजिल्याण्डलाई राम्रै संघर्ष गर्नुपर्ने स्थिति छ । 

    उता अष्ट्रेलियाले अफगानिस्तान, बंगलादेश र इङ्ल्याण्डसँग खेल्न बाँकी छ । बंगलादेश र इङ्ल्याण्ड खराब प्रदर्शनीका कारण पहिले नै सेमिफाइनल नपुगी बाहिरिसकेका छन् । ती देशको हालसम्मको प्रस्तुति हेर्दा खासै राम्रो नभएका कारण दुई नै वटा खेल जित्न अष्ट्रेलियालाई सहज पर्न सक्छ । ३ म्याच जितेर छैठौं स्थानमा रहेको अफगानिस्तानलाई हराउन भने अष्ट्रेलियालाई कठिन नै पर्न सक्नेछ । 

    हालसम्मको खेलमा अष्ट्रेलिया र न्यूजिल्याण्डले बराबर अंक पाएका भएतापनि कमजोर प्रस्तुति देखाएका टीमहरुसँगको खेल बाँकी रहेका कारण अष्ट्रेलियाको सेमिफाइनल यात्रा तुलनात्मक रुपमा सहज हुन सक्छ ।


    images
    images

    Logo