काठमाडौं । व्यक्तिहत्याको मुद्दामा सजाय भोगिरहेका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले उक्त मुद्दालाई बुधबार पनि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको हो ।
सोमबारको बहसमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले कानून बमोजिम नै रिगलको कैद मिनाहा भएकाले त्यसलाई गैरकानूनी भन्न नहुने जिकिर गरेका थिए । मंगलबारको बहस नसकिएपछि बुधबारका लागि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।
२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।
आफ्ना पति चिरन मानन्धरको हत्यामा दोषी ठहर भएका व्यक्तिलाई गैरकानूनी रुपमा कैद छुट दिएको भनी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । दशैंअघि परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दालाई प्राथमिकतामा राखेको छ । गम्भीर कानूनी प्रश्न देखिएको भनी संयुक्त इजलासले त्यो मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाएको हो ।



