काठमाडौं । मलेसियाविरुद्ध नेपालले ६ विकेटले जितेको छ । आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले १८ ओभरमा ४ विकेट गुमाएर १६६ रनको लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ६५ रन लिएका थिए । त्यस्तै, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३२, सन्दिप जोराले १८ र रोहित पौडेल र विवेक यादवले २/२ रनको योगदान दिएका थिए ।
यो खेल जितेसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । अब समूह ए अन्तर्गत ओमन र नेपाल तथा मलेसिया र सिंगापुरबीच खेल हुन बाँकी छ । समान ४/४ अंक रहेको नेपाल र ओमानमध्ये भोलि जसले जित्छ ऊ ६ अंकसहित समूह विजेता बन्छ भने हार्ने टिम उपविजेता बनेर सेमिफाइनलमा पुग्छ । मलेसिया र सिंगापुर भने दुई खेल हारेर सेमिफाइनलबाट बाहिरिसकेका छन् ।
समूह बी अन्तर्गत भने हालसम्म यूएई मात्रै सेमिफाइनलमा पुग्ने निश्चित भएको छ । १/१ खेल जित्दै हङकङ र बहराइनले सेमिफाइनल यात्राको सम्भावना जिवितै राखेका छन् । कुवेत भने लगातार दुई हारसँगै सेमिफाइनलको यात्राबाट बाहिरीसकेको छ । पर्सि यूएई र हङकङ तथा कुवेत र बहराइन भिड्दै छन् ।
सेमिफाइनलमा एउटा समूहको विजेता टिम अर्को समूहको उपविजेता टिमसँग भिड्ने व्यवस्था छ । अहिलेसम्मको अवस्था हेर्दा समूह बी मा यूएई विजेता बनेर जाने देखिन्छ । नेपालले ओमानलाई हरायो भने अर्को टिमको उपविजेतासँग खेल हुनेछ । पर्सि नेपाल हार्यो भने नेपालको भेट यूएईसँग पक्का हुनेछ ।
नेपाल हाल सबै प्रतिस्पर्धी टिमभन्दा शीर्ष बरियतामा छ । तर केही दिनअघि मात्रै भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले यूएईविरुद्ध हार बेहोरेको थियो । सोही कारण विश्वकपमा छनोट हुने सम्भावना उच्च राख्न समूह विजेता बनेर जानुपर्ने हुन्छ । यसका लागि पर्सि ओमानलाई हराउनुपर्ने बाध्यता छ ।



