काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न किसिमका कर्जालाई आउँदो पुस मसान्तसम्म पुनर्संरचना र पुर्नतालिकीकरण गर्न सकिने सुविधा दिएको छ । मंगलबार सूचना जारी गर्दै राष्ट्र बैंकले ३ महिना सम्म भाखा नाघेका ५ करोडसम्मको कर्जा लिएकालाई उक्त सुविधा दिएको हो ।
होटल तथा रेस्टुरेन्ट, पशुपंशीपालन, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित कर्जाहरु पुनर्संरचना र पुर्नतालिकीकरण गर्न सकिनेछ । यसैगरी निर्माण उद्योगअन्तर्गतका सिमेन्ट, डण्डी, इँटा, ब्लक, पाइप एन्ड फिटिङ्ग्स उद्योग र पाँच करोडसम्मका अन्य कुनै पनि व्यवसायका लागि लिइएका कर्जामा पनि यो सुविधा पाउन सकिन्छ ।
२०७९ सालको चैत मसान्तमा कर्जाको भाखा नाघेको ९० दिन नपुगेका ऋणीहरुले पुनर्संरचना र पुर्नतालिकीकरणका लागि कर्जा लिएको संस्थासँग अनुरोध गर्न सकिन्छ । यसका लागि बुझाउन बाकिँ ब्याजको कम्तिमा १० प्रतिशत भने भुक्तान गर्नुपर्नेछ भने व्यवसायको नगद प्रवाह र आम्दानीको विश्लेषण गरी कर्जा चुक्ताको योजना पनि पेश गर्नुपर्नेछ ।




