images
images

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी


  • 359
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

    काठमाडौँं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो ।
         
    महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रुपैयाँ बराबर पुँजीगत खर्च गरेको छ । त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न ६७ अर्ब ७० करोड ७१ लाख रुपैयाँ खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीनगुणाले बढी हो ।
         
    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा ४२ अर्ब ८४ करोड १७ लाख रुपैयाँ र ब्याज १३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ ब्याज गरी कूल ५६ अर्ब ५५ लाख ६७ लाख रुपैयाँ बराबर भुक्तानी भएको छ । 

    त्यस्तै, बाह्य ऋणको ८ अर्ब ७० करोड ३६ लाख रुपैयाँ साँवा र २ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ ब्याज गरी कूल ११ अर्ब १५ करोड ४ लाख रुपैयाँ बराबर भुक्तानी भएको छ । त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले ९७ अर्ब ३१ करोड रुपैयाँ बराबर आन्तरिक र ९ अर्ब ४७ करोड ८० लाख रुपैयाँ बाह्य गरी कूल १ खर्ब ६ अर्ब ७८ करोड ८० लाख रुपैयाँ बराबर ऋण लिएको छ ।

    योसँगै नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । गत असोज मसान्तसम्ममा नेपालले ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ आन्तरिक र ११ खर्ब ७१ अर्ब २ करोड ३१ लाख रुपैयाँ बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।
          
    अर्कोतर्फ सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ । हालसम्म कूल ३ खर्ब ३ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ बराबर बजेट खर्च हुँदा राजस्व सङ्कलन भने २ खर्ब ४८ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबर देखिएको छ । अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च  ५५ अर्ब ६७ करोड रुपैयाँ बढी छ । 


    images
    images

    Logo