काठमाडौं । भारत एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ । लगातार छ खेल जित्दै भारतले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
अहिले भारतसँग १२ अंक छ । दक्षिण अफ्रिकासँग १० र अष्ट्रेलिया तथा न्यूजिल्याण्डसँग ८/८ अंक छ । ६ अंकसहित पाँचौं स्थानमा उक्लिन आज श्रीलंका र अफगानिस्तानको प्रतिस्पर्धा हुँदैछ ।
अबको खेलमध्ये भारत तीनवटै हार्यो भने पनि १२ अंक हुन्छ । दक्षिण अफ्रिकाले सबै जित्यो भने १६ अंक हुन्छ । अष्ट्रेलिया र न्यूजिल्याण्डले सबै जित्दा १४/१४ अंक हुन्छ भने आज जित्ने टिमले सबै खेल जित्दा १२ अंक हुन्छ ।
तर, चारवटै टिमले सबै खेल जित्ने सम्भावना छैन । किनकी यी ४ टिमभित्र पनि एकआपसमा प्रतिस्पर्धा बाँकी छ । त्यसैले कुनै पनि विकल्पमा पनि अब भारतले सेमिफाइनल खेल्न पाउँछ ।
अहिलेसम्मको खेल अनुसार बंगलादेश र इङ्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । पाकिस्तान, नेदरल्याण्ड र आज हार्ने टिमको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना मात्रै बाँकी रहन्छ । उनीहरुमध्ये सबैले बाँकी ३ वटै खेल जितेर पनि अरु टिमको अवस्थामा भर पर्नुपर्छ ।
आजको खेल जित्ने टिमसँग भने प्रतिस्पर्धाबाटै सेमिफाइनलमा पुग्ने सम्भावना छ । तर अहिलेसम्मको प्रदर्शन र आगामी खेल हेर्दा यो सम्भव देखिँदैन ।



