काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १९ जनाको आवेदन परेको छ । सीईओका लागि अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका छन्।
उनीहरुलाई छनौट समितिले प्रारम्भिक सूची छनौट गरि अन्तरवार्ताका लागि बोलाउने छ । नेपाल बैंकले २१ दिनको म्याद तोकेर सीईओका लागि आवेदन माग गरेको थियो । ५ हजार शब्दमा नबढ्ने गरि व्यवसायीक कार्ययोजना पेश गर्न भनिएको थियो ।
छनौट समितिले ६० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये सबै भन्दा धेरै अंक ल्याउने पाँच जनालाई सर्ट लिस्टिङ गरि अन्तरवार्ताका लागि बोलाउनेछ । पाँच जनामध्ये उच्च अंक प्राप्त गर्ने ३ जनाको नाम सीईओ नियुक्तीका लागि सञ्चालक समितिमा पेश हुनेछ । तिनै ३ जनामध्येबाट सञ्चालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नुपर्नेछ ।
बैंकको सीईओमा आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कान’न विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ । त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अनतराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तमिा १० वर्षको कार्य अनुभव गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
बैंकका तत्कालीन सीईओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी निवृत्त भएसँगै रिक्त रहेको सीईओ पदमा पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो ।



