काठमाडौं । पोखरा महानगरपालिकाले फिर्के खोलाको क्षेत्र भित्र बनेका संरचना ३५ दिन भित्र हटाउन निर्देशन दिएको छ। सीमांकन टोलीले प्रतिवेदन बुझाएको एक महिनापछि महानगरले शुक्रबार ३५ दिने सूचना जारी गरी यस्तो निर्देशन दिएको हो।
तोकिएको मितिभित्र संरचनाहरु नहटाए महानगरपालिका आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थावाट असुलउपर गरिने महानगरले निकालेको सूचनामा उल्लेख गरिएको छ । यसअघि पोखरा महानगरले गठन गरेको फिर्के खोला सिमांकन टोलीले असोज ६ गते प्रतिवेदन पेश गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्केखोला नै हराउने र प्राकृतिक विपत्ति तिम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’
पोखरा महानगरले गठन गरेको सिमांकन टोलीले फिर्के खोला मिचेर १६० वटा अस्थायी र स्थायी संरचना बनाएको प्रतिवेदन पेश गरेको थियो । सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पेस गरेकोसो प्रतिवेदनमा खोला मिचेर ९७ वटा अस्थायी, ३५ वटा स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेका छन् ।
सर्वेक्षण टोलीले खोलामा फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनमा औंल्याएको थियो ।
टोलीले साउन ३ देखि भदौ २ गतेसम्म नापजाँच गरेको थियो । मानवीय अतिक्रमण र प्रदूषणका कारण फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तित्व रक्षाको संकटपूर्ण घडीमा पुगेको छ । ८ किमी लम्बाइको यो खोला पोखरा महानगरपालिकाको वडा नम्बर १८, २, ४, ५, ७, ८, ६ र १७ भएर बग्छ ।




