काठमाडौं । दशैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ । काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ ।
सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो । दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ । गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ ।
विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ ।



