काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले उपाधि जितेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको फाइनल खेलमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले १ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।
यो नतिजासँगै नेपाल त्रिकोणात्मक सिररिजको उपाधि जित्नबाट बञ्चित भएको छ । युएईका लागि कप्तान मोहम्मद वासिमले सवाधिक ४५ रनको योगदान दिए । उनले २२ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ४५ रन बनाएका हुन् ।
त्यस्तै वृत्य अरविन्दले २६, आर्यान्स शमाले २५, बसिल हमिदले २२, अलिसान शरर्फुले १३ तथा अलि नासिरले ११ रन जोडे । पहिलो विकेटका लागि वासिम र शर्माले ७१ रनको साझेदारी गरेका थिए । नेपालका लागि अविनाश बोहरा र गुल्सन झाले समान दुई विकेट लिए भने कुशल मल्लले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् ।
दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए । त्यस्तै आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् । कुशल मल्ल एक रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए ।
बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान २÷२विकेट झारे । त्यस्तै जुनैद शिद्धिकीले एक विकेट लिए ।
यसअघि नेपालले यूएई र हङकङलाई २/२ पटक हराएको थियो । यूएई आफैँ पनि हङकङसँग हारेर पनि रनरेटका आधारमा फाइनलमा पुगेको टीम हो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृंखला खेलिएको हो ।



