काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । आज मुलपानी क्रिकेट स्टेडियममा भएको त्रिकोणात्मक सिरिजको खेलमा नेपालले १६२ रन बनाउँदै यूएईलाई १६३ रनको लक्ष्य दिएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै, करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् ।
दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए । त्यस्तै, आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् । कुशल मल्ल १ रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए ।
बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई/दुई विकेट झारे । त्यस्तै, जुनैद शिद्धिकीले एक विकेट लिए । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृंखला खेलिएको हो ।



