तनहुँ । भीमाद नगरपालिकास्थित सेती नदीले कटान गर्दा जोखिममा पारेको बस्ती संरक्षणका लागि ग्याबिन तटबन्धन निर्माण गरिएको छ । नदी कटानका कारण भीमाद बजार क्षेत्रका ३५ घर उच्च जोखिममा परेका थिए ।
करिब दुई सय मिटर दूरीमा तटबन्धन निर्माण गरी बस्ती जोगाउने प्रयास गरिएको हो । पटकपटक गरी उक्त स्थानमा दुई करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको नगरप्रमुख दधिराज सुवेदीले बताए ।
“दीर्घकालीन व्यवस्थापनका लागि लागत अनुमान तयार गरिएको छ”, उनले भने, “१७ करोड रुपैयाँको लागतमा सेती नदी किनारमा ‘रिटेनिङ वाल’ निर्माणका लागि डिपिआर तयार भएको छ ।” करिब ५० देखि ६० मिटर उचाइमा रिटेनिङ वाल निर्माण गरी जोखिममा रहेका बस्तीलाई संरक्षण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए ।
उक्त स्थानमा रिटेनिङ वाल निर्माण गरी माटोले पुरेर बिहान र बेलुका मानिस हिँड्ने पैदलस्थलका रुपमा निर्माण गर्ने योजना बनाइएको छ ।
सोह्र करोड रुपैयाँका पाँच योजना
भीमाद नगरपालिकामा यस चालु आर्थिक वर्षमा १६ करोड रुपैयाँका पाँच वटा योजनाको निर्माण अघि बढाइएको छ । सहरी विकास मन्त्रालयले विनियोजन गरेको २५ करोड रुपैयाँ बजेटमा १५ करोड ९७ लाख रुपैयाँमा ठेक्का सम्झौतापछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
ठेक्का सम्झौताअनुरुप जलौदीदेखि मालेबगर जोड्ने करिब दुई दशमलव दुई किमी कालोपत्रका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भीमगोफा मोटरमार्गको दुई दशमलव सात किमी दूरीमा स्तरोन्नतिका लागि रु तीन करोड विनियोजन भएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए ।
त्यसैगरी किहुँ मार्गमा एक दहमलव २० किमी ढलान गर्न दुई करोड ४४ लाख रुपैयाँ, शवदाहस्थल निर्माण र प्रवेशद्वार निर्माणार्थ दुई करोड रुपैयाँ विनियोजन भएको छ । भीमाद–६ सेतीनदी किनारमा निर्माण गरिने शवदाहस्थल डेढ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको नगरप्रमुख सुवेदीले बताए ।
त्यसैगरी सिद्धगुफामा पर्यटन प्रवर्द्धनका लागि दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।



