तेल अविव । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफ्नो लक्ष्य देशलाई बचाउनु रहेको बताएका छन्। उनले गाजा हमासविरुद्ध छिट्टै स्थल आक्रमण गरिने बताएका छन् ।
टाइम्स अफ इजराइलका अनुसार इजराइल स्थल आक्रमणका लागि तयारी गरिरहेको छ । कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे भने केही उल्लेख गरिएको छैन । ‘हामी स्थल आक्रमणको तयारी गरिरहेका छौं । कहाँ, कसरी र कति आक्रमण हुन्छ भन्नेबारे म भन्दिनँ, म ती सीमाको बारेमा पनि विस्तारपूर्वक बताउँदिनँ,’ उनले भनेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले भने, ‘इजराइल हाम्रो अस्तित्वको लडाइँको बीचमा छ । युद्धका दुई उद्देश्य हुन्छन्– हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु र उसलाई समाप्त पार्नु, साथै हाम्रा बन्धकहरूलाई फिर्ता गर्नका लागि हरसम्भव प्रयास गर्नु ’।
मुलुकलाई बचाउनु र जित हासिल गर्नु नै लक्ष्य भएको बताउँदै उनले इजराइली कारबाहीमा हजारौं आतंककारी मारिएको र यो सुरुआत मात्र भएको बताए । स्थल आक्रमणको समयका बारेमा सर्वसम्मतिले निर्णय लिइएको उनको भनाइ छ । ‘अपरेसनको समय युद्ध मन्त्रिपरिषद् र मुख्यसचिवमार्फत् सर्वसम्मतिले निर्धारण गरिएको थियो। हामी ती हत्यारा, अत्याचारी र हमासबाट पूरा मूल्य चुकाउने छौं,’ उनले भने ।



