काठमाडौं । इजरायलमा हमास समुहले गरेको आक्रमणमा मारिएका दस जनामध्ये तीन जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू नेपाल पठाएको हो ।
पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने जनाइएको छ ।
अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ ।
असोज २० गते गाजामा हमास समूहको आक्रमणमा परेर दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । अन्य बाँकी छ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गरिरहेको दूतावासले जनाएको छ । शवहरू आइतबारनै नेपाली सेनाको हेलिकप्टरबाट धनगढी लैजाने तयारी गरिएको छ ।



