काठमाडौं । हङकङविरुद्ध नेपालले फराकिलो जित हाँसिल गर्दै नेपाल त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले हराएको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्र बनाउन सकेको हो ।
हङकङका लागि अंशी राठले ४५, एजाज खानले २५, बाबर हयातले २०, हारुन अर्षदले १२ र स्कट म्याकेनले ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले दुई–दुई तथा दीपेन्द्रसिंह ऐरी र प्रतिष जीसीले एकएक विकेट लिए ।
यो जीतसँगै नेपालको ६ अंक भएको छ। यसअघि भएका दुई खेलमा पनि नेपालले हङकङ र यूएईलाई पराजित गरेको थियो।
हङकङ र यूएईले अंक जोड्न सकेका छैनन् । दुवै टोलीमध्ये अंक तालिकामा माथि रहेको टोली फाइनलमा प्रवेश गर्नेछ । दुवै टोलीबीच दुई खेल हुन बाँकी छ। त्यस्तै, नेपालले अर्को खेल सोमबार यूएईसँग खेल्नेछ ।



