काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ६ बैंकहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । तोेकिएकोे मापदण्ड नपुर्याएको र ऐन तथा निर्देशनको उल्लंघन गरेको भन्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले बैंकहरुलाई कारबाही गरेको हो ।
विभागले नबिल, हिमालयन, एनएमबि, एनआईसी एशिया, लक्ष्मी सनराइज र सिटिजन्स बैंकलाई कारबाही गरेको छ । हिमालयन बैंक र लक्ष्मी सनराईज बैंकलाई भने भने विभागले नगद जरिवाना तिराएको छ ।
सम्पत्ति शुद्दिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै विभागले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ जरिवाना गराएको छ । त्यस्तै, वैशाख महिनामा कर्जा–निक्षेप अनुपात कायम नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ जरिवाना गरेको छ ।
कारबाहीमा परेका अन्य बैंकहरुमध्ये एनएमबि बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको, नबिल बैंकले एकीकृत निर्देशन उल्लङ्घन गरी ब्याजदर बढाएको, सिटिजन्स बैंकले कर्जा सापटको वर्गिकरण नगरेको र एनआईसी एशिया बैंकले ग्राहकहरुसँग बढी लिएको ब्याज (रिक्स प्रिमियम) सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएको भएपनि फिर्ता नगरेको आरोप लागेको छ । राष्ट्र बैंकले उक्त गतिविधिलाई नदोहोर्याई तोकिएको मापदण्ड र नीति नियम बमोजिमको कार्य गर्न बैंकका सीईओ र सञ्चालक समितिलाई सचेत गराएको छ ।



