images
images

पछिल्लो २४ घण्टामा १ लाखले छाडे उपत्यका, घटस्थापनायता ४ लाख ६६ हजार यात्रु बाहिरिए


  • 286
    SHARES
  • २०८० कार्तिक ३ गते शुक्रबार

    पछिल्लो २४ घण्टामा १ लाखले छाडे उपत्यका, घटस्थापनायता ४ लाख ६६ हजार यात्रु बाहिरिए

    काठमाडौं । दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा १ लाखले उपत्यका छाडेका छन् ।

    आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले राससलाई जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म कुल ४ लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उनले बताए ।

    घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार २ सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार ३ सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।

    असोज ३० गते ७३ हजार ८ सय ९६, कात्तिक १ गते ९१ हजार १ सय २ र २ गते ९८ हजार ३ सय ३२ जनाले उपत्यका छाडेका छन् । आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo