काठमाडौं । कामना सेवा विकास बैंकको नाफा १८७ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद व्याज आम्दानी ४९ करोड ९ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५२ करोड २२ रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ९३ लाख रहेको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ५६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ५४ अर्ब ८३ करोड निक्षेप संकलन गरेर ४३ अर्ब ५१ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५३ अर्ब ४७ करोड निक्षेप संकलन गरेर ४३ अर्ब ८५ करोड कर्जा विस्तार गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २८ करोड रहेको छ । जगेडा कोषमा १ अर्ब ५२ करोड छ भने कम्पनीको संचित नाफा २ करोड ५६ लाख रहेको छ । यस अवधिमा निष्कृय कर्जा अनुपात ३.४८ प्रतिशत रहेको छ भने गत वर्षको सही अवधिमा ३.४० प्रतिशत रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी १४.५७ रुपैयाँ रहेको छ भने गत वर्ष ५.२९ रुपैयाँ रहेको थियो । त्यसैगरी नेटवर्थ १४७.१८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात २०.५१ गुणा रहेको छ ।



