काठमाडौं । गैरिगाउँको र स्वयम्भूको पेट्रोलपम्प पछि शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प पनि सिल गरिएको छ । केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।
अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार उक्त पम्प सिल गरिएको हो । धेरै पेट्रोल भर्दै जाँदा पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको पाइएको उनले बताए ।
सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।
मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।



