काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५.९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६.०२ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक बर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६.२ प्रतिशत बराबर हो ।
यो अवधिमा सरकारले चालुतर्फ १८.६९, पुँजीगततर्फ ५ दशमलव ९ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा २ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ बराबर खर्च भएको छ ।
त्यस्तै, पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा हालसम्म १७ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा ४९ अर्ब ३४ लाख ९० हजार रुपैयाँ बराबर खर्च भएको छ ।
हालसम्मको सरकारी राजस्व सङ्कलन हेर्दा २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपैयाँ बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो । सरकारले चालु आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार रुपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।
पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ४६ करोड २१ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ ददशमलव ७९ प्रतिशत अर्थात् १९ अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ ।
चालु आर्थिक बर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् र ६ करोड १८ लाख रुपैयाँ बराबर अनुदान लिएको छ ।(((



