काठमाडौं । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स २२.१ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने यो साउन र भदौमा १ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा १७.७ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४ सय ५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।
शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड बचत
शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको २०८०÷८१ को दुई महिनाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२० अर्ब ८१ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाख रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको । समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँ ले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्व ४६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब रुपैयाँ
कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । यस्तो सञ्चिति असार महिनाको तुलनामा ३.९ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० भदौ मसान्तमा ४।५ प्रतिशतले वृद्धि भई १४ खर्ब ६ अर्ब ५२ करोड पुगेका छ ।
बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० भदौमसान्तमा ०.६ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेकोछ ।
आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८० भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.७ प्रतिशत, ८६.० प्रतिशत र २६.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।



