काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थानलाई निर्देशन दिएका छन् ।
सिंहदरबारमा सोमवार पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिनाभित्र किसानलाई दूधको भुक्तानी गर्न दूधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताए ।
उनले दूधसँग सम्बन्धित संस्थाहरुको समस्या समाधानका लागि मन्त्रालयले उनीहरुको स्टक रहेको दुधलगायतका उत्पादनहरुलाई धितो राखी सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताए ।
दुधसम्बन्धि संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाई थियो । मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्न आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहोर्याए ।



