काठमाडौं । आजदेखि काठमाडौं उपत्यका भित्रिने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले नारायणगढदेखि काठमाडौसम्म सञ्चालन हुने ठूला सवारी साधनमा रोक लगाएको हो।
सरकारले यात्रुलाई आवतजावत गर्न सहज गर्ने उद्देश्यले उक्त सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको यातायात व्यवस्था विभागले जनाएको छ ।
‘नारायणगढ देखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरोकोमा यात्रुलाई आवतजावत गर्न सहज गर्ने उद्देश्यले उक्त सडक खण्डमा उल्लेखित सवारीहरु २०८० साल असोज २६ गतेदेखि कार्तिक ८ गतेसम्म उपत्यकामा प्रवेश गर्न प्रवेश विन्दुमा रोक लगाउने निर्णय गरेको छ,’ जारी सूचनामा उल्लेख छ ।
दसैं, तिहार र छठ पर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिरका जिल्लाहरुबाट काठमाडौं उपत्यकामा प्रवेश गर्ने यात्रुहरुको यात्रालाई सहज र सुरक्षित बनाउने सम्बन्धमा सरकारले गत आसेज २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।यस व्यवस्थाले दसैंमा घर जाने–आउने गर्ने यात्रुलाई सहज हुनेछ । यात्रुवाहक सवारी निर्वाधरुपमा सञ्चालन गर्नका लागि यसबाट सहयोग पुग्ने यातायात व्यवस्था विभागको भनाई छ ।
यस्तै, दसैंकै अवसरमा सरकारले देशभरका यातायातको रुट परमिट नियम पनि खुला गरेको छ । यसबाट यात्रु बोकेर सवारी साधन जुनसुकै रुटमा पनि जान पाउनेछन् ।



