काठमाडौं । वाणिज्य आपुर्ति तथा उपभोक्ता शनिबार २१ फर्ममाथि अनुगमन गरेको छ । शनिबार दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न वहानमा ठगेको र खरिद विल नराखेको, मूलयसुची नराखेका कम्पनीलाई विभागले कारवाही गरेको हो ।
विभागले उपभोक्ता ठगी गर्ने ७ वटा पसललाई ३ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै २ वटा पसलसँग थप कागजात माग गरिएको छ भने ११ वटा पसललाई सामान्य निर्देशन दिइएको छ ।
आसन्न चाडपर्वमा खाद्य र गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी फर्म, कम्पनी, व्यक्तिको कारोबार स्थल, उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमनका लागि परिचालित बजार निरीक्षण अधिकृतहरूले २१ वटा पसलमा अनुगमन सो मात्रामा कारबाहीमा परेका हुन् ।
बजार अनुगमनका क्रममा बौद्धको खाद्य सामग्री पसलमा मूल्य सूची, दर्ता प्रमाणपत्र नराखेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । यता भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा पनि मूल्य सूची नराखेको, दर्ता प्रमाणपत्र नराखेको र अनुगमन गर्न सहयोग नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
मध्यपुर ठिमीकै अर्को पसलमा रिलेबलिङ गरेको, परिणाम, मूल्य र नापतौलमा हेरफेर गरेका कारण २० हजार जरिवाना गरिएको छ । मध्यपुर ठिमीको एक फलफूल पसल र ललितपुरको चाकुपाटमा रहेको खाद्यवस्तु पसलमा अनुगमनका लागि असहयोग गरेका कारण पाँच पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।
चाकुपाटकै अर्को खाद्यवस्तु पसलमा खरिद बिल बिजक नराखेको कारण २० हजार जरिवाना गरिएको छ । कुपन्डोलमा पनि बिलबिजक नराखिएको १ पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । चाकुपाटकै पनि बिलबिजक नराखिएको १ पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।



