काठमाडौं । सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबिच तीन चरणको वार्तापछि शनिबार राति सहमति जुटेको हो ।
स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राईको ४ सदस्यीय टोली गठन गरेको थियो ।
आन्दोलनरत कर्मचारीले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा राखिनुपर्ने माग राख्दै असोज १५ देखि सडक आन्दोलन र १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका थिए ।





