काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो ।
लुक्लाबाट उडेको ‘'नाइनएन एएमभि' कलसाइन भएको मनाङ एयरको हेलिकप्टर आज बिहान ७ः२५ बजे खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो। सो दुर्घटनापछि प्राधिकरणले मनाङ एयरको एओसी निलम्बन गरेको हो।
दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए । हेलिकप्टरमा आगलागी भएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।
यसअघि, तीन महिनाअघि मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको थियो । खराब मौसमका कारण सो दुर्घटना भएको थियो ।



