images
images

गैरव्यावसायिक क्रियाकलापमा संलग्न १ सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल


  • 249
    SHARES
  • २०८० आश्विन २७ गते शनिबार

    गैरव्यावसायिक क्रियाकलापमा संलग्न १ सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल

    काठमाडौं । उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ । 

    यही असोज १ देखि २५ गतेसम्म विभागले काठमाडौँ उपत्यकाभित्रका दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधि तथा तरकारीजन्य छ सय ७९ व्यावसायिक फर्मको अनुगमन गरी एक सय ७७ फर्मलाई विभिन्न कसुरमा कारबाही गरेको छ । विभागले गैरव्यावसायिक क्रियाकलाप गर्ने ती फर्ममाथि कारबाही गरी  ५४ लाख ६७ हजार रुपैयाँ जरिवाना तिराएको छ । 

    यस्तै १ सय ८५ फर्मसँग थप कागजात माग तथा २ सय ९३ फर्मलाई व्यावसायिक सुधारका लागि निर्देशन दिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए । विभागले अनुगमनका क्रममा कुलेश्वरबाट जफत गरेको ७० हजार मेट्रिकन चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत दरमा बिक्री गरिरहेको छ । उक्त चिनी साल्ट ट्रेडिङले प्रतिकिलो १ सय १ रुपैयाँ ५० पैसामा खरिद गरी सुपथ मूल्य पसलमार्फत प्रतिकिलो ९७ रुपैयाँ मा बिक्री गरेको हो । 

    बजारमा देखिएको चिनीको अभावलाई न्यूनीकरण गरी आपूर्ति प्रणाली सहज गर्न स्वदेशी उद्योगले अन्य औद्योगिक प्रयोजनका लागि अग्रीम बिक्री सम्झौता गरिसकेको एक हजार मेट्रिक टन चिनी उपभोक्ताको सहज पहुँच पुग्ने गरी बजारमा पठाउने तयारी गरिएको विभागका महानिर्देशक चिलुवालले जानकारी दिनुभयो । चिनी सञ्चय गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यवसायीको गोदामस्थल पहिचान गरी कारबाही गर्ने तथा सञ्चय गरेको चिनीलाई सहज र वास्तविक मूल्यमा बजारमा आपूर्ति गराउन निरन्तर लागि परेको विभागले जनाएको छ । 

    जीराको अस्वाभाविक मूल्यवृद्धि भइरहेका सन्दर्भमा विभागले सूक्ष्म अनुगमन गरिरहेको महानिर्देशक चिलुवालको भनाइ छ । “बजारमा सहज आपूर्ति र अस्वाभाविक नाफाखोरी गर्ने प्रवृति नियन्त्रणका लागि विशेष निगरानी, सूक्ष्म सूचना विश्लेषण र सरोकार भएका अन्य निकायबाट समेत आयात, सञ्चय तथा बिक्री वितरणसम्बन्धी विवरण विभागको निगरानी टोलीबाट अध्ययन भइरहेको छ”, उनले भने । 

    चोभारस्थित एक गोदामस्थलबाट २५ हजार किलो जीरा सञ्चय भएको पाइएको र उक्त जीरा तुरुन्त बजारमा प्रवाह गर्नेगरी काम अगाडि बढाइएको विभागले जनाएको छ । विभागबाट खटिएको अनुगमन टोलीले जीरा, चिनी, पिउने पानीलगायत काठमाडौँ उपत्यकाका नौ वटा खाद्यजन्य वस्तु सञ्चय गर्ने व्यवसायीको गोदाम र व्यापारिकस्थल सिलबन्दी गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । 

    नियमित रुपमा बजार अनुगमन मार्फत स्वच्छ र प्रतिस्पर्धी बजार कायम गरी उपभोक्ताको हित संरक्षण कार्यमा विभाग क्रियाशील रहेको महानिर्देशक चिलुवालको भनाइ छ । बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिलबिजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री वितरणलगायतक्रियाकलापलाई न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न विभाग निरन्तर रुपमा क्रियाशील रहेको छ । 

    विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, औषधि व्यवस्था, आन्तरिक राजस्व, नेपाल गुणस्तर तथा नापतौल, पशुसेवा र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सहभागितामा संयुक्त बजार अनुगमन भइरहेको छ । 


    images
    images

    Logo