काठमाडौं । भोकमरी लाग्ने अवस्थायुक्त देशको सूचीमा नेपालको अवस्था सुधार भएको छ । ग्लोबल हङ्गर इन्डेक्स २०२३ अनुसार कम भोकमरी लाग्ने देशमध्ये नेपाल ६९ औं नम्बरमा परेको छ । अघिल्लो वर्ष नेपालको अवस्था ८१ औं नम्बरमा थियो । सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ । नेपालमा १५ प्रतिशत जनसंख्याले मात्रै पेटभरी खान नपाउने अवस्था रहेको देखिएको छ ।
बिहीबार सार्वजनिक गरिएको उक्त सर्वेक्षण रिपोर्टमा विश्वका १२५ राष्ट्र समेटिएका छन् । जसको पहिलो स्थानमा बेलारुस छ । यसले बेलारुस विश्वकै कम भोकमरीयुक्त देश रहेको जनाउँछ । सबैभन्दा अन्तिम स्थानमा भने मध्य अफ्रिका गणतन्त्र परेको छ ।
रिपोर्टले १० प्रतिशतभन्दा कम नागरिकमा मात्रै पर्याप्त खाद्य सुरक्षा नपुगेको देशलाई गाढा हरियो, १० देखि १९ सम्मलाई फिक्का हरियो, २० देखि ३४ प्रतिशत सम्मलाई पहेँलो, ३५ देखि ४९ प्रतिशतसम्मलाई खैरो र ५० प्रतिशत भन्दा बढीलाई रातो सूचीमा राखेको छ । जसमध्ये ९ मुलुकहरु खैरो सूचीमा छन् ।
त्यस्तै, ३४ देशहरु पहेँलो सूचीमा छन् । ३७ देशहरु फिका हरियो तथा ५१ देश गाढा हरियो सूचीमा छन् । गाढा हरियो सूचीमा परेकामध्ये पनि २० देशमा खाद्य सुरक्षा नपुगेका नागरिकको संख्या ५ प्रतिशत भन्दा कम छ ।
सार्क राष्ट्रहरुमा यो वर्ष सबैभन्दा अगाडी श्रीलंका छ । जर्जर आर्थिक अवस्थाका बाबजुद श्रीलंकाले भोकमरी न्यूनीकरणमा थप सुधार गर्दै आफ्नो उत्कृष्ठतालाई कायमै राखेको हो । अघिल्लो वर्ष श्रीलंका ६४ औं स्थानमा थियो ।
नेपालपछि सार्कको तेस्रो नम्बरमा बंगलादेश छ । सो देश यस वर्ष यो सूचीको ८१ औं स्थानमा छ । सन् २०२२ मा बंगलादेश ८४ औं स्थानमा थियो ।
सार्कका मुलुकहरु पाकिस्तान, भारत र अफगानिस्तान भने पहेँलो सूचीमा छन् । १०२ औं स्थानमा रहेको पाकिस्तान भने सार्कको चौथो स्थानमा छ । पाकिस्तानको अवस्था यो वर्ष खस्किएको छ । अघिल्लो वर्ष यो देश ९९ औं स्थानमा थियो ।
विश्वकै पाचौँ र सार्कको सबैभन्दा ठूलो अर्थतन्त्र भएको भारत भने यो सूचीको १११ औं स्थानमा छ । अघिल्लो वर्ष १०७ औं स्थानमा रहेको उक्त देशको स्थिति यस वर्ष झनै खस्किएको हो । सार्कमा भारतको अवस्था पाचौं हो ।
अफगानिस्तान भने सूचीको ११४ औं स्थानमा छ । २०२२ मा १०९ औं स्थानमा परेको उक्त देश यसवर्ष ५ स्थान तल झरेको हो । सार्कमै रहेका माल्दिभ्स र भुटानलाई भने उक्त रिपोर्टमा समेटिएको छैन ।
छिमेकी मुलुक चीन कम भोकमरीयुक्त देशको चौथो स्थानमा छ । चीन २०२२ मा पनि चौथो स्थानमा नै थियो । उक्त मुलुकमा भोकमरीको अवस्था ५ प्रतिशत भन्दा कम मात्रै छ ।



