काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिक्मम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात ७ दिन भित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले दुरसञ्चार प्राधिकरणलाई ७ दिनभित्र टेरामक्स परियोजना सम्वन्धि सवै कागजात समितिलाई बुझाउन निर्देशन दिएको हो ।
बैठकमा समितिले गरेको निर्णय सुनाउँदै लेखा समिति सभापति ऋषिकेश पोखरेलले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने बताए । उनले यो प्रविधि खरिद प्रक्रियाको सुरुदेखि अहिलेसम्मका कागज एवं निर्णयका विषयमा भएका गतिविधि सात दिनभित्र समितिमा बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन् ।
निजी दूरसञ्चार सेवा प्रदायक संस्थानहरुलाई सेवा सञ्चालन अनुमति लाइसेन्समध्ये बन्द भइसकेको टेलिकमको लाइसेन्स बिक्रीको कार्य गैरकानूनी तवरबाट प्रक्रिया अगाडि बढेको भन्दै कम्पनीले तिर्नुपर्ने दायित्व भुक्तानी नगरी सकेकाले स्मार्ट टेलिकमको लाइसेन्स बिक्री कार्यलाई स्थगित राखि यस सम्बन्धमा भएका निर्णयका कागजात समितिमा उपलब्ध गराउन उनले निर्देशन दिएका छन् ।
नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरुबाट राज्यलाई बुझाउन बाँकी रहेको कुनै पनि राजश्व तीन महिनाभित्र अशुल गर्न पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उनले निर्धारित समयभित्र राजस्व नबुझाउने सेवा प्रदायकलाई कानुन बमोजिम कारबाही गरी त्यसको जानकारी समितिलाई गराउन पनि समितिले निर्देशन दिएका छन् । ।



