काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विवादित कालापानी क्षेत्र भ्रमणमा आएका छन् । मोदी हेलिकप्टर चढेर बिहीबार बिहान कालापानीमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
साथै भारतको विथौरागढ र गन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको जनाइएको छ ।
सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ । तर भारतले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।
त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन् । उनले मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको जनाइएकाे छ ।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।



