काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा १ अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व असुल गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको थियो ।
चालु आर्थिक बर्षका लागि काठमाडौं महानगरपालिकाले १० अर्ब ४१ करोड रुपैयाँ राजस्व असुलको लक्ष्य लिएको काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए। गत आर्थिक बर्षको सोही अवधिलाई तुलना गर्दा चालु आर्थिक बर्षको साउन र भदौमा २४ करोड रुपैयाँ बढी राजस्व असुल भएको छ ।
चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड रुपैयाँ असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट २५ करोड रुपैयाँ असुल भएको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको काठमाडौं महानगरपालिका प्रमुख काफ्लेको भनाइ छ ।
गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६ सय ४८ करतादा बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरुपमा बढेका छन् । पछिल्लो समय १ हजार ३ सय करदाता थपिएका छन् । अहिले काठमाडौं महानगरपालिकामा ३ लाखभन्दा बढी करदाता छन् ।



