काठमाडौं । इजरायलमा फसेका नेपालीलाई ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।
यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरुको निधन भएको थियो । इजरायलबाट १० जना नेपालीको शव ल्याउन र अन्य नेपालीलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको हाे ।
यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।
दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार ४ हजार ५ सय जना केयरगिभरको रूपमा र २ सय ६५ विद्यार्थी गरी ४ हजार ७ सय ६५ जना नेपाली छन्। सामान्य अव्स्था नभएकाले चार्टर विमान उडान र अवतरणको लागि अनुमति लिनुपर्ने हुन्छ जसका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ ।



