काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको राजस्वमा आश्चर्यजनक गिरावट देखिएको छ । आइतबार पत्रकारहरुसँगको कुराकानी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम क्षेत्रको राजस्व गिरावट डरलाग्दो अवस्थामा रहेको बताएका हुन्।
उनले आर्थिक बर्ष २०७४/७५ यता नेपाल दुरसञ्चार सेवाप्रदायकको राजस्व २५ अर्बले घटेको भन्दै यसलाई अनुगमन गर्नुपर्ने समय आएको बताएका छन् ।
नेपालको दूरसञ्चार सेवाप्रदायकको सेवा अनुगमन गर्न ल्याइएको टेलिकम्युनिकेसन मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम कार्यान्वयनमा ल्याउन खोज्दा प्राधिकरणलाई घेराबन्दीमा पारिएको अध्यक्ष खनाल बताउँछन् ।
प्राधिकरणले ३ अर्ब ११ करोड रुपैयाँ खर्चिएर नेपालको दूरसञ्चार सेवालाई निरिक्षण र अनुगमन गर्न लेबनानको भ्यानराइज सोलुसनलाई उपकरण आयात तथा जडानको ठेक्का दिएको थियो । तर, टेरामोक्समा कल तथा एसएमस ट्यापिङको हल्ला फैलाएर स्वार्थसमुहले सो प्रणाली कार्यान्वयन हुन नदिने चलखेलमा लागेको प्राधिकरणको आरोप छ ।
प्राधिकरणका अध्यक्ष खनालले भने ‘आर्थिक बर्ष २०७४/७५ देखि आजसम्म आउदा नेपालको टेलिकम सेक्टरको राजस्व २५ अर्बले घटेको छ । यहि रेसियो रहिरहने हो भने अबको ४ देखि ५ बर्षमा नेपालको दूरसञ्चार क्षेत्र कोल्याप्स् हुन्छ।’
उनका अनुसार २०१७ को जेनवरीदेखि नेपालमा फोरजी सुरु भएको थियो । त्यसपछि नेपालमा ४ सय गुणा डेटा उपयोग र टेलिकम कम्पनीहरुले अहिले ४ सय गुणा बढी ब्यान्डवीथ खपत गरिरहेको प्राधिकरणको दाबी छ ।
उनले थपे ‘टेलिफोनको पैसा घटेको छ, एसएमएसको पैसा घटेको छ, नेटवर्क विस्तार भएको छ , सिम बिक्री भइरहेको छ तर पनि फोरजी बिस्तरपछि २५ अर्बले राजस्व घटेको छ । यसको अनुगमन कस्ले गर्ने ?’।
नेपालमा आउनुपर्ने टोटल भोल्युम कल देखायो अथवा देखाएन, कतै कल करेर फाइलिङ गर्यो कि ? यस्ता बिषय म्यान्युअली पत्ता नलाग्ने भएर सो ठगीलाई नियन्त्रण गर्न टेरामोक्स लागू गर्न खोजिएको बताए । यसअघि पनि टेलिकम कम्पनीहरुले रियलटाइम डेटा दिन असहयोग गर्दै आएको अध्यक्ष खनालको भनाइ छ ।
गत साउनबाट प्राधिकरणले यो प्रविधि कार्यान्वयन गराउन खोजेपनि नेपालको टेलिकम सेवाप्रदायकको असहयोगका कारण लागू गर्न सकेन । अर्को तर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार मन्त्री नै टेरामोक्सको बिपक्षमा उभिएकोउनले बताए ।
टेरामोक्स उपकरण आयात र ठेक्कामा अनियमितता देखिएको भन्दै अख्तियारले पनि टेरामोक्सको फाइल तानेको छ भने प्राधिकरणका दर्जन कर्मचारीको समेत बयान लिएको छ । अख्तियारले शुत्रबार टेरामोक्सको उपकरणको पनि अनुगमन गरेको थियो ।
उनले टेरामोक्समा हुँदै नभएको फिचरलाई अफवाह फैलाएर टेरामोक्स कार्यान्वयनलाई रोक्न खोजिएको दाबी गरेका छन् ।



