काठमाडौं । काठमाडौं उपत्यकाका माछा व्यापारीहरुले ४ दिनदेखि माछा पसल बन्द गरेका छन् । सरकारले भारतबाट आयात गर्ने माछामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको र भण्डारणका लागि महँगो पर्ने गरी प्रक्रिया तोकेको भन्दै व्यवसायीले पसल बन्द गरेर आन्दोलन थालेका हुन् ।
भन्सार विभागले गत भदौ १९ गते माछा आयात हुनेमध्ये एउटा उपशीर्षक स्थगन गर्ने आन्तरिक निर्देशन जारी गरेको थियो । आर्थिक ऐन २०८० को दफा ५ को उपदफा ३ अनुसारको अनुसूची–१ मा भएको व्यवस्था परिवर्तन गरेर विभागले निर्देशनसहितको परिपत्र जारी गरेको हो । उक्त अनुसूचीको ०३.०२ मा ताजा वा चिसो पारेको माछा र शीर्षक ०३.०३ मा हिमीकृत (फ्रोजन) गरिएको माछा वर्गीकरण हुने व्यवस्था छ ।
यो व्यवस्थाले हिमीकृत गरिएका माछासमेत भन्सार कार्यालयहरूबाट ताजा वा चिसो पारेको माछाको रूपमा वर्गीकरण भई जाँचपास हुनसक्ने भएको हुँदा राजस्व संकलनमा असर पर्न जाने देखिएको विभागको परिपत्रमा उल्लेख छ । सूचना प्रविधि पूर्वाधार शाखालाई सम्बोधन गरिएको परिपत्रमा भनिएको छ, “सम्बन्धित भन्सार कार्यालयबाट शीर्षक ०३.०२ कै माछा भएको यकिन गरी विभागमा अनुरोध गरेमा संचालन गर्ने गरी हाललाई शीर्षक ०३.०२ अन्तर्गतका सबै उपशीर्षक आसिकुडा प्रणालीमा स्थगन गर्ने।”



