काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकाको सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध ९० लाख ३९ हजार भ्रष्टाचार गरेको आरोप लागेको छ । आफूसँग भएको सम्पत्तीको स्रोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
२०५४ कार्तिक ५ गते नियुक्त भएदेखि २०७८ मंसिर २१ गतेसम्ममा उनले कमाएको सबै र पैत्रिक सम्पत्ति समेत जोड्दा २ करोड ९७ लाख ८१ हजार रुपैयाँ वैधानिक आय देखाएका थिए । खर्च भने आयभन्दा ९० लाख ३९ हजार बढी बढी – ३ करोड ८८ लाख २१ हजार देखिन आएको छ । स्रोत नखुलेको गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोप आयोगले कोइरालाविरुद्ध लगाएको हो ।
साथै, सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोईराला समेतको नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको छ ।



