images
images

पर्याप्त पैसा हुँदा पनि ऋण प्रवाह गर्न नसकेका बैंकहरुलाई दोहोरो राहत


  • 1.2K
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    पर्याप्त पैसा हुँदा पनि ऋण प्रवाह गर्न नसकेका बैंकहरुलाई दोहोरो राहत

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट एकैपटक दोहोरो राहत पाएका छन् । बिहीबार एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरुको प्राभिजनिङ तथा पुँजीकोष अनुपातमा ठूलो परिवर्तन गरिदिएको हो । 

    निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो व्यवस्था १.३० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थाले बैंकहरुमा भएको करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रभिजनिङ फुकुवा भएको छ । 

    त्यस्तै, राष्ट्र बैंकले माैद्रिक नीतिमा ल्याएको काउन्टर साइक्लिकल बफरसम्बन्धी व्यवस्था लागु गरिएको छ ।  यसअनुसार यस्तो बफर ०.५ प्रतिशत कायम गरिएको छ । माैद्रिक नीतिमा व्यवस्था भएर पनि निर्देशन नआउँदा बै‌ंकहरुले बफरका लागि ठूलो पुँजी सिर्जना गर्नुपर्ने अवस्था थियो । बासेल ३ ले बैंक तथा वित्तीय संस्थाका लागि २.५ प्रतिशतसम्म काउन्टर समइिक्लिकल बफर लगाउन भनेको छ ।  

    नयाँ निर्देशनले यस्तो बफर बापत ०.५ प्रतिशत मात्रै पुँजीकोष अनुपात कायम गरे हुने व्यवस्था गरेको छ । यसअनुसार अब बैंकको जोखिमपूर्ण कर्जामा आधारित पुँजीकोष अनुपात ११.५ प्रतिशत कायम गरे पुग्नेछ । 

    बफर धेरै लगाइएको अवस्थामा बैंकहरु नयाँ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा थिए । साथै अहिले नै ओभरक्यापिटलाइज्ड भइसकेका बैंकहरु फेरि बोनस शेयरको झमेलामा पर्ने अवस्थामा थिए । यो अवस्थालाई अन्त्य गर्न राष्ट्र बैंकले खुकुलो नीति लिएको हो ।


    images
    images

    Logo