काठमाडौं । श्रमजीवी पत्रकार ऐन विपरित श्रमजिवी पत्रकारलाई सेवाबाट निष्कासन गरेको भन्दै कान्तिपुर मिडिया ग्रुपविरुद्ध नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर एकजुट भएका छन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै संस्थाहरुले कान्तिपुरको कदमको विरोध गरेका हुन् ।
कान्तिपुरले लामो अवधि काम गरेका स्थायी तथा करार, स्ट्रिन्जर पत्रकारको सम्झौता नविकरण नगर्ने, इमेलमार्फत अवकास पत्र पठाउने, कतिपयलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन मानव संशाधन विभागबाट फोन गरेर टर्चर दिने जस्ता कार्य तत्काल बन्द गरि पत्रकारहरुको पेशागत सुरक्षाको सम्मान गर्न तीनैवटा संस्थाले विज्ञप्तीमार्फत् आग्रह गरेका छन् ।
यस्ताे छ प्रेस विज्ञप्ति
मितिः२०८०।०६।१८
कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकार ऐन विपरित श्रमजिवी पत्रकारलाई सेवाबाट निष्कासन गरेको घटनाप्रति नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपालको गम्भिर ध्यानाआकृष्ट भएको छ ।
कान्तिपुरले लामो अवधि काम गरेका स्थायी तथा करार, स्ट्रिन्जर पत्रकारको सम्झौता नविकरण नगर्ने, इमेलमार्फत अवकास पत्र पठाउने, कतिपयलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन मानव संशाधन विभागबाट फोन गरेर टर्चर दिने जस्ता कार्य गरेको पीडित पत्रकारले गुनासो गरेका छन् ।
मुलुकमा देखिएको आर्थिक मन्दीको कारण देखाउँदै कान्तिपुरले वर्षौं कार्यरत श्रमजीवी पत्रकारको सम्झौता नवीकरण नगर्ने, अवकास पत्र दिने, राजीनामा दिन बाध्य बनाएर रित्तो हात घर पठाउन खोज्नु, स्थायीलाई स्ट्रिन्जरमा झार्न खोज्ने कार्य निन्दनीय छ । श्रम ऐनमा भएको व्यवस्था विपरित पत्रकारलाई जबरजस्ती यस्ता कार्य तत्काल रोक्न आग्रह गर्दछौं । नेपालको प्रचलित ऐन, कानुन अनुसार पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न कान्तिपुर समक्ष अनुरोध गर्दछौं ।
कान्तिपुरमा कार्यरत पत्रकारले व्यस्थापन समक्ष राखेका पत्रकारका मागहरूप्रति हाम्रो पूर्ण समर्थन र एक्यवद्धता छ । पत्रकारका मागलाई तत्काल सम्बोधन गर्दै श्रमजिवी पत्रकार ऐनमा भएको व्यवस्था अनुसार व्यवहार गर्न पनि आग्रह गर्दछौं । कानुनी आधारलाई टेकेर बार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न कान्तिपुर व्यवस्थापनसँग आग्रह गर्दछौं । पत्रकारका माग र आग्रहलाई बेवास्ता गरिए श्रमजिवी पत्रकारको पक्षमा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं । त्यसबाट उत्पन्न हुन सक्ने समस्याप्रति कान्तिपुर व्यवस्थापननै जिम्मेवार र जवाफदेही हुने समेत स्पष्ट पार्दछौं ।
शिव लम्साल गणेश बस्नेत विष्णु सापकोटा जुगल
अध्यक्ष अध्यक्ष अध्यक्ष
नेपाल प्रेस युनियन प्रेस चौतारी नेपाल प्रेस सेन्टर नेपाल



