काठमाडौं । दशैंको बढ्ने मागलाई सम्बोधन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ । बजार मूल्यभन्दा केही कम मूल्यमा सर्वसाधारण उपभोक्तालाई खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको हो ।
व्यापारीहरुले दशैंमा चलेको मूल्यभन्दा पनि बढी रकम लिइ बेच्ने गरेको भन्दै कम्पनीले विगतका वर्षमा पनि सहुलियत मूल्यमा सर्वसाधारणलाई खसी, बोका र च्याङ्ग्रा ल्याउने गरेको थियो । अघिल्लो वर्ष खाद्य कम्पनीले एक हजार ४६३ वटामात्र खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो । यसपटकको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको हो ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि खाद्य कम्पनीले हेटौँडा, धादिङ, दाङ, तुलसीपुर लगायतका क्षेत्रबाट खसी, बोका ल्याउने तयारी गरेको छ । यस्तै, मनाङ र मुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।



